काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगीको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार रवि लामिछाने विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगीको अभियोगमा मुद्दा दर्ता भएको हो । सरकारी वकिलले लामिछानेसँगै अरु १४ जना व्यक्ति ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनाको मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलले रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको हो ।
साहारा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ रकम हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकम समेत गरी ५६ करोड २२ लाख ५० हजार रुपैयाँ रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।
यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो ।
यसअघि रवि लामिछाने विरुद्ध ३ जिल्ला अदालतमा मुद्दा दर्ता भइसेकेको छ । उनीविरुद्ध जिल्ला अदालत कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दर्ता भएको थियो । कास्कीमा ८४ दिन हिरासत बसेका रवि ६० लाख धरौटीमा छुटेका थिए । त्यस्तै, काठमाडौंबाट ६५ लाख र रुपन्देहीमा १ करोड धरौटी बुझाएर छुटेका थिए ।
अहिले उनी विरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि अनुसन्धान भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।