काठमाडौं । पछिल्लो दुई वर्ष यता बैंकिङ व्यवसाय सुस्त छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंकहरूले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न नसकेका हुन् ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि माग नहुँदा कर्जा विस्तार हुन सकेको छैन । अर्कोतर्फ आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरूको कर्जा असुलीमा समस्या देखिएको छ । जसकारण बैंकहरूको खराब कर्जा बढेर औसतमै साढे ४ प्रतिशत पुगेको छ भने आगामी दिनमा अझै बढ्ने आकलन छ ।
२०८० कात्तिकदेखि नै ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि नीतिगत लचकता अपनाउँदै आएको छ ।तर, अर्थतन्त्र शिथिल हुँदा र व्यवसायीको मनोवल बढ्न नसक्दा अझै कर्जाको माग बढ्न सकेको छैन ।
पछिल्लो १ वर्ष यता निक्षेप संकलन एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, घट्दो आयात लगायत कारणले निक्षेप लगातार थपिरहेको हो । गत वर्ष मात्रै बैंकिङ प्रणालीमा ४ खर्ब बढी निक्षेप थपिएको थियो भने चालु आवको ६ महिनामै साढे २ खर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
तर, यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने न्यून छ । गत वर्ष भरिमा २ खर्ब कर्जा लगानी गरेका थिए । यद्यपि, चालु आवमा भने कर्जा लगानीमा केही सुधार आएको छ । चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले समग्रमा साढे २ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् ।
निक्षेप थुप्रिरहँदा बैंकहरूको ब्याज खर्च बढिरहेको छ भने कर्जा विस्तार गर्न नसक्दा आम्दानी पनि घटिरहेको छ । कर्जाको माग नहुँदा बैंकहरूले आफूले संकलन गरेको निक्षेप बैंकमै थुपारेर राख्न बाध्य भएका छन् । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ ।
कर्जाको माग बढ्न अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी तरलता थुप्रिएको छ । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ६ खर्ब बढी लगानी गर्नुपर्छ । तर, चालु आवको ६ महिना लक्ष्यको करिब ४० प्रतिशत ऋण लगानी भएको छ ।
व्यवसाय विस्तारमा ग्लोबल र एभरेष्ट आक्रमक
चालु आवको ६ महिनामा वाणिज्य बैंकहरूले मात्र २ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधिमा १८ बैंकको निक्षेप र १७ बैंकले कर्जा लगानी बढाएका छन् भने २ बैंकको निक्षेप र ३ बैंकको कर्जा लगानी घटेको छ ।
आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा ग्लोबल आइएमई र एभरेष्ट बैंक भने आक्रमक बनेका छन् । चुक्ता पूँजीका आधारमा अन्य बैंकभन्दा आधा सानो रहे पनि व्यवसाय विस्तारमा एभरेष्ट बैंक आक्रमक देखिएको छ ।
चालु आवमा ग्लोबल आइएमईले मात्रै ४० अर्ब कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले ६ महिनामा गरेको कुल कर्जा लगानीको १६ प्रतिशत हो । त्यस्तै, ग्लोबल आइएमई निक्षेप संकलनमा पनि दोस्रो स्थानमा रहेको छ । ६ महिनामा ग्लोबलले २९ अर्ब रुपैयाँ निक्षेप थपेको छ ।
चालु आवमा व्यवसाय विस्तारमा एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि आक्रमक देखिएका छन् । ६ महिनाको अवधिमा एभरेष्टले १९ अर्ब निक्षेप थपेको छ भने दोस्रो धेरै ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो चालु आवमा भएको कुल कर्जा लगानीको साढे १२ प्रतिशत हो ।
त्यस्तै, ६ महिनामा इन्भेष्टमेन्टले सबैभन्दा धेरै ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानीमा पनि इन्भेष्टमेन्ट मेगा तेस्रोे स्थानमा छ । ६ महिनामा यस बैंकले २६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।
व्यवसाय विस्तारमा एनएमबी बैंक चौथो स्थानमा रहेको छ । पुससम्म एनएमबीले २२ अर्ब निक्षेप संकलन गरी २५ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।
यस अवधिमा निक्षेपमा संकलन र कर्जा लगानी दुवैमा नबिल बैंक पाँचौं स्थानमा छ । ६ महिनामा नबिलले २२ अर्ब निक्षेप संकलन गरी २२ अर्ब रुपैयाँ नै कर्जा ल गानी गरेको छ ।
कर्जा विस्तारमा राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम कमर्शियल र नेपाल बैंक पनि अगाडि नै देखिएका छन् । ६ महिनामा राष्ट्रिय वाणिज्यले २२ अर्ब, लक्ष्मी सनराइजले २० अर्ब, प्राइमले १९ अर्ब र नेपाल बैंकले १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यस्तै, सिद्धार्थले १३ अर्ब, कुमारीले १२ अर्ब, सिटिजन्सले ९ अर्ब, सानिमा र माछापुच्छ्रेले समान ८८ अर्ब र नेपाल एसबीआइले ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । हिमालयन र कृषि विकासले भने करिब ५० करोड रुपैयाँ कर्जा दिएका छन् ।
पुससम्म एनआइसी एशिया, प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने कर्जा लगानी उल्टो घटेको छ ।
खस्किँदै एनआइसी
चालु आवमा १७ बैंकले निक्षेप र कर्जा लगानी दुवै बढाउँदा एनआइसी भने खस्किएको छ । यस अवधिमा एनआइसीको निक्षेप र कर्जा लगानी दुवैमा भारी गिरावट आएको छ ।
६ महिनाको अवधिमा एनआइसीबाट ४६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । त्यस्तै, कर्जा लगानी २४ अर्ब रुपैयाँ घटेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले निक्षेप घट्दा खासै असर नपरे पनि कर्जा लगानी घट्दा भने बैंकलाई ठूलो नोक्सानी हुन्छ । अहिले नयाँ कर्जाको माग नहुँदा बैंकहरू बीच एकअर्काको ऋण खोस्न तीव्र प्रतिस्पर्धा छ । त्यसको मारमा एनआइसी परेको हो ।
वाणिज्य बैंकहरूमा एनआइसीको बेसरेट उच्च छ । बेसरेट महँगो भएकाले बैंकको कर्जाको ब्याजदर पनि अरु बैंकको भन्दा धेरै छ । यस्तोमा अहिले अरु बैंकले ग्राहकलाई सस्तो ब्याजदरमा ऋण दिएर एनआइसीको कर्जा आफ्नो सारेको देखिन्छ ।
अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले ऋणीले उल्लेख्य मात्रमा ऋण तिर्न सक्ने अवस्था छैन । त्यसैले, ऋणीले धमाधम महँगो ब्याजको ऋण सस्तो ब्याजदर भएका बैंकमा सारिरहेका छन् ।
व्यवसायमा आएको गिरावट प्रभाव एनआइसीको खुद नाफामा पनि परेको छ । पुससम्म एनआइसीले सबैभन्दा कम १५ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।