काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार (सेयर धितोमा ऋण)का लागि योग्य रहेका छन् ।
नेप्सेले मंगलबार सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा १०२ कम्पनी मात्रै अटाएका हुन् ।
हाल नेप्सेमा करिब २६७ कम्पनीहरू सूचीकृत छन् । तीमध्ये ३८ प्रतिशत कम्पनीमा मात्रै मार्जिन कारोबारका लागि योग्य भएका हुन् । सूचीकृत ६२ प्रतिशत अर्थात् १६५ कम्पनी मार्जिन कारोबारका लागि अयोग्य भएका हुन् ।
नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा १६ वटा मात्र वाणिज्य बैंक रहेका छन् । नेप्सेका अनुसार लक्ष्मी सनराइज, प्रभु र प्राइम कमर्शियल मार्जिन कारोबारका लागि अयोग्य रहेका हुन् ।
त्यस्तै, सूचीकृत १५ विकास बैंक मध्ये ६ वटा मात्रै मार्जिन कारोबारका लागि योग्य भएका छन् । १५ वटा फाइनान्स मध्ये आइसीएफसी मात्रै योग्य भएको छ । १४ वटा फाइनान्स मार्जिन कारोबारका लागि अयोग्य भएका छन् ।
त्यसैगरी, ५० वटा लघुवित्तमध्ये ३४ वटा कारोबारका लागि योग्य भएका छन् । त्यस्तै, ९ जीन बीमा कम्पनी, ९ निर्जीवन बीमा कम्पनी, लगानी समूहका ४, उत्पादनमूलक क्षेत्रका ४, हाइड्रोपावर १४, होटल समूहको एउटा, एउटा पनर्बीमा कम्पनी र नेपाल टेलिकम मार्जिन कारोबारका लागि योग्य भएका छन् ।
नेप्सेमा सूचीकृत सबैभन्दा धेरै कम्पनी रहेको हाइड्रोपावर क्षेत्रका ९१ कम्पनी मध्ये १४ कम्पनी मात्रै योग्य रहेका छन् भने ८५ प्रतिशत कम्पनी अयोग्य रहेका छन् ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार सेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ ।
यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको सेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन कारोबार गरिरहेका छन् । साथै, पछिल्लो समय केही ब्रोकर कम्पनीहरूले समेत कार्जिन लेन्डिङ सेवा सुरू गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।