add

जीवन बीमा कम्पनीले १६% ले बढाए नयाँ व्यवसाय, कसको नाफा कति ?






ActPro Nepal

|

१३ माघ, २०८१

|
63

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु अर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउन-पुस) ८१ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको पुससम्म १७ जीवन बीमा (१४ जीवन बीमा र ३ लघु जीवन बीमा) कम्पनीले कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा जीवन बीमा व्यवसाय ९.३३ प्रतिशत अर्थात ६ अर्ब ९३ करोड रुपैयाँले बढेको हो । गत वर्ष पुससम्म जीवन बीमा कम्पनीहरूले कुल ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बीमा शुलक संकलन गरेका थिए ।

चालु आवको पुससम्म १४ जीवन बीमा कम्पनीले मात्रै ८० अर्ब ६६ करोड रुपैयाँ र ३ लघु जीवन बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । पुस महिनामा मात्रै १५ अर्ब रुपैयाँ प्रिमियिम संकलन गरेका छन् ।

चालु आवमा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसायमा पनि सुधार आएको छ । गत वर्षको तुलनामा चालु आवको ६ महिनामा कम्पनीहरूको नयाँ व्यवसाय १६.४७ प्रतिशतले बढेको छ । पुससम्म जीवन बीमा कम्पनीले नयाँ पोलिसी जारी गरी १६ अर्ब १२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । गत वर्ष यही अवधिमा १३ अर्ब ८४ करोडको नयाँ पोलिसी जारी गरेका थिए ।

यद्यपि, समग्र जीवन बीमा व्यवसाय भने पुरानै पोलिसी नवीकरणले धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ८०.१३ प्रतिशत रहेको छ । नयाँ पोलिसी बिक्रीबाट १९.८७ प्रतिशत मात्रै बीमा शुल्क संकलन गरेका छन् । पुससम्म जीवन बीमा कम्पनीहरूले पोलिसी नवीकरण शुल्क बापत ६३ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेका छन् ।

पुससम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेख संख्या १ करोड ४० लाख ४१ हजार ३५३ वटा रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष सक्रिय बीमालेखको संख्या २ लाख ८५ हजार ९५९ वटाले बढेको हो ।

पछिल्लो अर्थतन्त्रमा सुधारका संकेत देखिँदा बीमा व्यवसायमा पनि सुधार आएको हो । पछिल्ला महिनाहरूमा नयाँ पोलिसी बिक्री हुने क्रम बढ्दो छ ।

नेपाल लाइफकै वर्चश्व

जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सकै वर्चश्व रहेको छ । पुससम्म संकलित कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले मात्रै २२ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २७.६६ प्रतिशत हिस्सा हो ।

जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ । पुससम्म यसले ७ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ९ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा ११.८३ प्रतिशत र लाइफ इन्स्योरेन्सको ११.६५ प्रतिशत रहेको छ ।

साविकका ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले पुससम्म ८ अर्ब ३३ करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हो ।

पुससम्म सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड, एशियन लाइफ ४ अर्ब २१ करोड, सिटिजन्स लाइफ ३ अर्ब ३८ करोड, सानिमा लाइफ ३ अर्ब २४ करोड, मेट लाइफ २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा २ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी लाइफ २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफ २ अर्ब ३८ करोड र आइएमई लाइफले २ अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सन नेपाल लाइफले सबैभन्दा कम २ अर्ब रुपैयाँ प्रिमियम उठाएको छ ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको पुससम्म कुल ५१ करोड २९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.६३ प्रतिशत मात्र हो । यद्यपि, पछिल्ला महिनाहरूमा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।

पुससम्म गार्डियन माइक्रो लाइफले २० करोड २० लाख, क्रेष्ट माइक्रो लाइफले १८ करोड ६४ लाख र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.