काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ।
बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।
चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन् भने यो उनको डेब्यू निर्देशन पनि हुनेछ ।
‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताइएको छ।
त्यस्तै, सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।
फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायाङ्कन काठमाडौं तथा धनकुटामा हुनेछ ।
सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफू उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला–जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा दिक्क लागेको बताउँदै त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसङ्ग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताए ।
‘म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थें । त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्यूट हुने गरी कार्यक्रमहरू हुन्थे र मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्यूट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस्, म आउँदिन किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो,’ शेखरले भने, ‘हाम्रा मुभीहरुमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन । यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ तर कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् । जसले गर्दा यसमा आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छौँ ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।