काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको हो ।
महानगरका अनुसार नियमित सडक मर्मत कार्यक्रम अन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौँ प्लाजामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् ।
सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ । १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ ।
यस अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।