काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीको हकप्रद सेयरमा पुस १७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीले हकप्रद सेयर प्रयोजनाका लागि कात्तिक २१ गते बुकक्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीहरूले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ भने हकप्रदपछि ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।
हकप्रदबाट प्राप्त रकममध्ये ३० करोड ६४ लाख प्रबद्र्धकबाट लिएको ऋण तिर्ने, १२ करोड ठेकेदार तथा बिक्रेताहरूको भुक्तानी गर्ने र बाँकी रकम बैंकको ऋण तिर्ने कम्पनीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।