add

पृथ्वी राजमार्गकै लामो ‘आर्क ब्रिज’ निर्माण ४५ प्रतिशत सकियो






ActPro Nepal

|

२ मंसिर, २०८१

|
114

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।

आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । ३१५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ ।

मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.