काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ११.७५ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो नाफा बढेर १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकले २ अर्ब ३३ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, बैंकको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा भने १६.६७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
यता, संचालन नाफामा पनि दोहोरै अंक अर्थात् ११.१५ प्रतिशत वृद्धि भई १ अर्ब ८२ करोड ८३ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ७३ कोड ० लाख १९ हजार रुपैयाँ कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस पनि २ रुपैयाँ ७९ पैसा बढेर २६ रुपैयाँ ५३ पैसा पुगेको छ । वितरणयोग्य इपिएस भने २५ रुपैयाँ ५५ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा छ ।
समिक्षा अवधमिो बैंकको खराब कर्जा पनि बढेर ४.८६ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १२ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको व्यापारमा भने सामान्य सुधार देखिन्छ । बैंकको निक्षेप संकलन ५ प्रतिशत वृद्धि भई २ खर्ब २१ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा विस्तार पनि ३.९२ प्रतिशत वृद्धि भई १ खर्ब ८८ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।