काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन्।
मनसुनी वर्षातपछि बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन्।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन्। आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बोलाइएको छ।
सिंहले शनिबार राति भनेका छन्, ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण आएको विपतपछिको राहत, उद्धार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले भोलि दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको जानकारी गराउँछु।’
शुक्रबारदेखि निरन्तर परेको वर्षातपछि शनिबार काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा बाढी र पहिरोले व्यापक क्षति पुर्याएको थियो।
लगातार तीनदेखि परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी, पहिरो र डुबानबाट शनिबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या १०० जना पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।