add

बुद्ध एयरले गर्यो एटीआर-४२ जहाजको बिदाइ






ActPro Nepal

|

२५ भदौ, २०८१

|
73

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले एटीआर–४२ ( नाइन एन–एआइएन) जहाजको भव्य बिदाइ गरेको छ । विगत १६ वर्षदेखि नेपाली आकाशमा उडान भर्दै आएको उक्त जहाज मंगलबारदेखि व्यावसायिक उडान बन्द भएको हो ।

बुद्धले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप उक्त जहाजलाई पानीको फोहोराले सलामी (वाटर स्यालुट) दिएको थियो ।

बुद्ध एयरले ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर जहाजलाई बिदा गरेको हो । बुद्धले उक्त जहाज सन् २००८ मा भित्र्याएको थियो । यो उसको पहिलो एटीआर विमान समेत हो ।

बुद्धले यो विमानबाट सोमबार मात्रै १४ वटा आन्तरिक उडान गरेको थियो । मंगलबार बिहान पनि यो जहाजले अन्तिम उडानको रुपमा माउन्टेन फ्लाइट गरेको थियो ।

७० हजार उडान साइकल (एक टेकअफ र एक ल्याण्डिङ) पूरा गरेको यस जहाजले १८ लाख यात्रुलाई सेवा दिएको छ । ७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाजलाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ ।

एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेको मध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन-एआइएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाजलाई बुद्ध एयरको ह्यांगरमा लगिएको छ । अब यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो । योसँग ४७ सिटका एटीआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटीआर जहाज छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.