add

जीवन विकास र श्रृजनशील लघुवित्तको सिराहा शाखामा आगजनी






ActPro Nepal

|

११ भदौ, २०८१

|
184

सिरहा । सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी गरिएको छ ।

गोलबजार नगरपालिका-७ स्थित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेका हुन् । त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलाइएका छन् ।

करिब २० जनाको समूहमा आएका महिलाले श्रृजनशील लघुवित्त कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई/तीनजनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए ।

यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुईवटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपालले घटनाको जिम्मा लिएको छ ।

सरकार र सङ्घर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू सङ्घर्षमा जान बाध्य भएको सङ्घर्ष समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए । उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैङ्कका प्रतिनिधि र सङ्घर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।’

आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए। अराजक शैलीमा आगजनी भएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.