काठमाडौं । धितोपत्र बजारमा साताको अन्तिम दिन अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ । यो ३५ महिना यताकै धेरै हो ।
उच्च अंकले बढेको बजारमा आज २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो नेप्सेको ३ दशक लामो इतिहासकै धेरै हो । यसअघि साउन २८ गते २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस्तै, आज एकैदिन ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको छ । यो आजसम्म कुनै एक दिनमा भएको सर्वाधिक कित्ता कारोबार हो । यसअघि साउन २८ गते ६ करोड ४८ लाख कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेमा उछाल आउँदा लगानीकर्ताको सम्पत्ति आज एकैदिन ६८ अर्बले बढेर बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । यो पनि इतिहासकै धेरै हो ।
आज कारोबारमा आएको १३ मध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशतले बढेको छ भने फाइनान्स परिसूचक ३.०५ प्रतिशतले घटेको छ ।
आज नेपाल हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ९१ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १०५ कम्पनीको मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आइएमई र लिबर्टी इनर्जीका सेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
आज नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।