काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को खुद नाफामा उछाल आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८३.९५ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्ष २०७९/८० को तुलनामा २७ करोड रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवमा ३३ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद बीमाशुल्क, खुद आम्दानी र लगानी तथा कर्जा आय बढ्दा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क १९.०७ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १९.०५ प्रतिशतले बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको यस अवधिमा लगानी तथा कर्जा आयबाट हुने आम्दानी २०.८२ प्रतिशतले बढेर ४७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च १०.२१ प्रतिशतले बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
हाल २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ६२ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा १९ करोड ४५ लाख, रिटेन्ड अर्निङमा ५० करोड ७५ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४२.०४ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।