काठमाडौं । एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।
भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । अन्य ब्याटरहरु कसैले पनि दोहोरो रन बनाउन सकेनन् ।
भारतका दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् । त्यसअघि श्रीलंकाको राङगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् । ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतका लागि ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गरेका थिए ।
नेपालका सीता राना मगरले २ तथा कविता जोशीले १ विकेट लिए। समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।