काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२औँ स्थापना दिवस तथा ३०औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा सोमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे।
मन्त्रि अर्यालले यस कार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए। ‘हामीलाई थाहा छ, व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लग्न छन्। त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु। मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्,’ उनले भने।
भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे।
उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रुपमा दुई खर्ब एक अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।