काठमाडौं । कालोसूचीमा पर्ने ऋणीहरूको संख्या ह्वात्तै बढेको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा र बैंकिङ कसुरमा घटना बढ्दा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको हो ।
कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिना (साउन मंसिर)मा मात्रै २० हजार ४२३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्नेमा ६९ प्रतिशत चेक बाउन्सका कारण परेका छन् । चालु आवमा चेक बाउन्सका कारण मात्रै १४ हजार १०० प्रतिशत कालोसूचीमा परेका छन् । त्यस्तै, कर्जा डिफल्ट कारण ६ हजार ३२३ जना व्यक्ति तथा संस्था कालोसूचीमा परेको केन्द्रको तथ्यांक छ ।
सूचना केन्द्रका अनुसार चालु आवको ५ महिनामा ६ हजार ६२६ व्यक्ति तथा संस्थाहरू कालोसूचीबाट हटेका छन् । तोकिएका शर्त पूरा गरेपछि यसअघि कालोसूचीमा परेकाहरू कालोसूचीबाट हटेका हुन् ।
कोरोना महामहारी पछिका वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या वर्षेनी उच्च दरमा बढ्दै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । जसमध्ये ३९ हजार ४८२ जना चेक बाउन्सको कारण कालोसूचीमा परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३४ हजार बढी ऋणीहरू कालोसूचीमा परेका थिए ।
आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण व्यापार व्यवसाय चलायमान हुन नक्दा ऋणीले समयमै कर्जा भुक्तानी गर्न सकेका छैनन् । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंकको खराब कर्जा हालसम्मकै उच्च अर्थात् ४ प्रतिशतभन्दा धेरै रहेको छ । ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूको खराब कर्जा बढेको हो । जसको असर कालोसूचीमा पर्नेहरूको संख्यामा देखिएको छ ।
आगामी दिनमा बैंकहरूको खराब कर्जा झनै बढ्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई दिएको सहुलियत मंसिर मसान्तमा सकिएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै तिर्न नसक्दा ऋणीहरूलाई संस्थाहरूले कालोसूचीमा राख्ने गरेका छन् । पटकपटक ऋणको भुक्तानीका लागि ताकेता गर्दा समेत असुली हुने अवस्था नदेखिएमा कलोसूचीमा पर्छन् ।
धेरैजसो अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्ने र कर्जा तिर्न नसके पछि कालोसूचमिा पर्ने राष्ट्र बैंकको दाबी छ । यद्यपि, धेरै उत्पादनमूलक उद्योग र तिनका सञ्चालक समेत कालोसूचीमा पर्ने गरेका छन् ।
विशेष गरेर सेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसकेपछि कालोसूचीमा पर्ने गरेको जानकारहरू बताउँछन् ।
त्यस्तै, कालोसूचीमा पर्ने मुख्य कारण चेक बाउन्स हो । खातामा पैसा नभई चेक काट्ने र भुक्तानी हुन नसक्दा चेक बाउन्स हुने गरेको छ । यसले बैंकिङ कसुरको मुद्दा ह्वात्तै बढाएको छ । मानिसहरूको आम्दानी नहुँदा चेक बाउन्स हुने संख्या बढिरहेको हो । साथै, केही चेक बाउन्स हुनुमा मानिसहरूको नियत पनि जोडिएको छ । अरुलाई झुक्याउन र ढाँट्न पनि चेक काट्ने प्रवृति छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।