add

भरतपुर महानगरले ल्यायो साँढे ६ अर्बको बजेट






ActPro Nepal

|

११ असार, २०८१

|
345

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बराबरको बजेट ल्याएको छ।

सोमबार महानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरे।

बजेटमा महानगरले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ।

जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरिएको छ।

बजेटमा महानगरले चालु वर्षमा निर्माण सम्पन्न नहुने र भुक्तानी दिन बाँकी रहेका तथा बहुवर्षीय आयोजना सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि १ अर्व ६० करोड बजेट विनियोजन गरेको छ।

यस्तै, महानगरले पहिलो पटक वडालाई न्यूनतम र सुत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ। महानगरले कम्तीमा पनि एक वडालाई न्यूनतम २ करोड ७४ लाखदेखि अधिकतम २ करोड ९० लाख रकम विनियोजन गरेको छ।

महानगरका २९ वटा वडाका लागि ८२ करोड रकम आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ भने पर्यटकीय केन्द्र दियालो बंगालाको पूर्वाधार निर्माणका लागि १ करोड, महानगरभित्रका सडक मर्मतका लागि ५ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ।

वैदेशिक रोजगारबाट फर्केकाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नका लागि कृषि पेशातर्फ कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि ६ करोड विनियोजन गरेको छ। यस्तै, दुध उत्पादनमा दिइँदै आएको प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान यथावत राखेको छ।

फोहोरमैलाको दीर्घकालीन समाधानको लागि ल्यान्डफिल साइट निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पूरा गर्नको लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्दै पूर्वाधारका काम थप अगाडि बढाउन ४ करोड ३० लाख विनियोजन गरेको छ। महानगरवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउनको लागि महत्वपूर्ण स्थानमा सिसीक्यामेरा जडान कार्यको लागि ८ करोड बजेट विनियोजन गरेको छ।

त्यस्तै  बन्दै गरेको प्रशासकीय भवनको निर्माण र इन्टेरियरका लागि ५ करोड बजेट, हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्न १ करोड विनियोजन गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.