काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ ।
सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरु भएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।