भेरीगङ्गा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भए पनि गरिब भनेर बनाइएको भाष्य बदल्न लाग्नुपर्ने बताएका छन्।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले कर्णालीमा रहेका ढुङ्गा बेचेरै प्रशस्त आम्दानी लिन सकिने सम्भावना रहे पनि त्यसको उपयोग नगरी विगतदेखि नै गलत भाष्य निर्माण गरिएको बताए।
“नकारात्मक रूपमा कर्णालीलाई व्याख्या गर्नेभन्दा पनि सकारात्मक पक्षतर्फ पनि ध्यान दिऔँ, यहाँको सम्भावनातर्फ सबैले ध्यान दिएर त्यहीअनुसार योजना बनाउनुपर्छ‚’ उनले भने, ‘कर्णालीको ढुङ्गा बेचेर पनि हजारौँलाई रोजगारी दिन सकिने सम्भावना छ।”
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेगरी आफूले योजना बनाएको पनि उनको भनाइ थियो।
“अहिले देशमा केही हुँदैन भन्ने निराशा बढ्दो छ, त्यो निराशालाई आशामा बदल्ने गरी मैले केही योजना ल्याएर शुरुआत गरिसकेको छु”, मन्त्री अर्यालले भने, “स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना छन्। अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्छौं, त्यसका लागि हामीले केही नयाँ सोच र जोशका साथ कामको थालनी गरेका छौँ।”
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अहिलेसम्म धेरै रकम खर्च भए पनि उपलब्धि हासिल हुन नसकेकाले सो कार्यक्रमको काम परिवर्तन गर्न लागिएको बताए।
आगामी वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धेरै प्रतिफल प्राप्त हुने उनको दावी थियो। यसैगरी उनले भारततर्फ रोजगारीमा जानेहरूको समेत तथ्याङ्क राख्नेगरी काम भइरहेको जानकारी दिए।
यसैबीच मन्त्री आर्यालले आफ्नो पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप शतप्रतिशत गलत रहेको दावी गरे।
संसदीय छानबिन समितिका नाममा संसदीय क्रियाकलाप प्रभावित बनाइएको पनि उनको भनाई थियो। आफूहरू समाजको स्वरुप फेर्ने गरी आएको बताउँदै उनले केही पार्टी सत्ताबाहिर रहँदा छटपटाइरहेको आरोप लगाए।
यसैबीच श्रम तथा रोजगार मन्त्रालयले जेठ २५ र २६ गते सुर्खेतमा रोजगार मेला आयोजना गर्ने भएको छ। आन्तरिक रोजगारी प्रवर्द्धन गर्न वीरेन्द्रनगरमा दुईदिने रोजगार मेला आयोजना गरिएको मन्त्रालयका सहसचिव दीपक नेपालले जानकारी दिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।