मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ९ मा शिखरपूरमा क्योकुशिन कराते डोजो सञ्चालनमा आएको छ ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शुक्रबार शिखरपूर फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेशन डोजोको उद्घाटन गर्दै सञ्चालनमा आएको जानकारी गराए । गाउँगाउँमा कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेशनले आफ्नो शाखा शुक्रबारबाट डोजो सञ्चालनमा ल्याएको हो ।
शाखा डोजो सञ्चालन गदै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले संघीय सरकारले दिने बार्षिक बजेट कम भएको हुँदा सबै क्षेत्रमा सन्तुष्ट हुने गरि जनअपेक्षा अनुरुप बजेट बिनियोजन गरेर समस्यालाई सम्बोधन गर्न गाह्रो परिरहेको बताए । हामीसँग स्थानीय आम्दानी कम छ, संघीय सरकारले दिने बजेटले सबै काम गर्न बजेट पर्याप्त छैन, तर पनि हामीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। पूर्वाधारको विकास र खेलकुदलाई बराबर हैसियतमा बजेट उपलब्ध गराइरहेका छौं। अध्यक्ष लामिछानेले भने ।
उनले यो क्षेत्रमा खेलकुदको डोजो सञ्चालनबाट स्थानीय क्षेत्रको विकास, अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सक्ने खेलाडीहरु तयार पार्न महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे । उनले खेलकुदको नियमित अभ्यासले खेलाडीहरुलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै गाउँपालिकाको क्षमता अनुसार सहयोग उपलब्ध गराउने बताए ।
नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेशनलका ब्रान्चचिफ सिहान जय देसारले डोजोको सुरुवातबाट गाउँगाउँमा करातेका खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा किर्तिमान राख्न सक्ने खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे। उनले यस डोजोबाट दैनिक रुपमा नियमित खेल अभ्यास गर्ने प्रतिभावान खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर मिलाउने बताए ।
बकैया गाउँपालिका वडा नं। ९ का वडा अध्यक्ष टंकध्वज लोप्चनले खेललाई निरन्तरता दिन आग्रह गर्दै त्यसका लागि वडा र गाउँपालिकाबाट सहयोग र समन्वय गर्ने र वडाबाट गर्नुपर्ने सहयोग निरन्तर गर्ने बताए । उनले डोजोको सुरुवातले यहाँका खेलाडीहरुलाई अवसरको सृजना गरेको बताउँदै सबैजना मिलेर लाग्दा लक्ष्य हासिल गर्न सकिने बताए ।
बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक बिजय लामाले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता गरेर गाउँपालिकाको विकासका लागि सहयोग गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानको प्रशंसा गर्दै पालिकाबाट सक्दो सहयोग र समन्वय उपलब्ध गराउने बताए ।
डोजोका अध्यक्ष जयराम घलेले खेलाडीहरुको आत्मरक्षाका लागि खेलको अनुशाशन कायम गर्दै उनीहरुको ज्ञान, सीप, दक्षता अभिबृद्धिमा रचनात्मक ढंगले गतिविधिहरु सञ्चालन गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाकास्थित नेपाली कांग्रेस, नेकपा एमालेका स्थानीय प्रतिनिधिहरुलगायतले शुभकामना व्यक्त गरेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।