काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद्मा राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट ल्याउनुअघि संघीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जसअनुसार मंगलबार संघीय संसद्लाई राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् ।
सचिवालयका अनुसार संघीय संसद्का सबै सदस्यहरूलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोशाकमा उपस्थिति भइ आफ्नो आश ग्रहण गरिसक्न सूचित गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट सम्बोधन हुने संयुक्त बैठकलाई व्यवस्थित गर्न सोमबार सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित संघीय संसद्मा रहेका दलका नेताहरूसँग बैठक सञ्चालनका विषयमा परामर्श गरेका थिए ।
राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गर्ने अभ्यास रहेको छ । संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । त्यसका लागि प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ५:३० बजेका लागि बोलाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।