add

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट






ActPro Nepal

|

२८ चैत, २०८०

|
195

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले  शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गरे।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।’

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए।

‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरे। उनले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरे।

इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको बताए।

आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताए।

‘लर्न एण्ड अर्न’ कार्यक्रम आफूले नै पहल गरेर सुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.