add

१६ हिमाल आरोहणका लागि १७१ जनाले लिए अनुमति, २४ करोड रोयल्टी संकलन






ActPro Nepal

|

२७ चैत, २०८०

|
128

काठमाडौं । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन् ।

पर्यटन विभागका अनुसार वसन्तऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र २६० पुरुष गरी कूल ३३४ आरोहण अनुमति लिएका छन् । सगरमाथा हिमालमा मात्रै १३समूहका ३० महिलासहित १४९ आरोहीले अनुमति पाएका छन् ।

हिमाल आरोहणको अनुमतिबापत हालसम्म २३ करोड ७५ लाख ७ हजार ७७६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै  २० करोड ९८ लाख २२ हजार २०० रुपैयाँ आम्दानी भएको छ ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले यस याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतर्फ लागेका छन् । उनका अनुसार सगरमाथा आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आइरहेका छन् ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमालमा चार आरोही समूहका ३८ जनाले अनुमति पाएका छन् । यस्तै ल्होत्से हिमालका चार आरोही समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल आरोहणका लागि तीन आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

वसन्तऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा हालसम्म करिब १५ जना आरोही आरोहणका लागि आएको बताए ।

अहिले ६० हाराहारी आरोही अनुमति लिने प्रक्रियामा रहेकाले यसवर्ष पनि सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । एसियन ट्रेकिङका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अहिले उल्लेख्य सङ्ख्यामा आरोही आइरहेको बताउँछन् ।

विभागका अनुसार अघिल्लो वर्षको वसन्तऋतुमा ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्तऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई रु ११ लाख दस्तुर लाग्छ । नेपालीले भने ७५ हजार रुपैयाँ तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा  ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । यो याममा आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएको विभागले जनाएको छ । यो याममा सगरमाथा आरोहणका लागि रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।

उक्त कम्पनीमार्फत जाने दक्ष शेर्पाले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो खुलाउछन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाइरहेको छ । अहिले खुम्बु आइसफलमा बाटो बनाउने कार्य जारी रहेको समितिले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.