काठमाडौं । एनआइसी एशिया बैंकले चैत मसान्त भित्र ऋण तिर्ने ऋणीलाई छुट दिने भएको छ ।
बैंकले पुस मसान्तसम्म निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएकको कर्जाको चैत मसान्तभित्रै सम्पूर्ण ब्याज र किस्ता रकम भुक्तानी गरे हर्जनामा शतप्रतिशत र ब्याजमा २० प्रतिशतसम्म छुट दिने भएको हो ।
बैंकका अनुसार कमसल वर्गमा परेको कर्जाको किस्ता र ब्याज चैत भित्रै तिरे हर्जानामा शतप्रतिशत र ब्याजमा १० प्रतिशत छुट पाउने छन् ।
त्यसैगरी, शंकास्पद कर्जाको किस्ता र ब्याज भुक्तानी गर्दा ब्याजमा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । दुवै कर्जाको हर्जनामा भन शतप्रतिशत छुट हुनेछ ।
आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले हर्जना र ब्याजमा छुट दिइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा यो छुट लागू हुनेछ ।
यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ऋणीको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।