काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदैछ । यसका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकासहितका परीक्षासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्रमा पुर्याउने काम सकिएको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार, ती सम्पूर्ण सामग्रीको सुरक्षा नजिकै रहेको सुरक्षा निकायले दिएको छ ।
शर्माले एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण समेत गरिएको बताए ।
देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । यो वर्षको एसईईमा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।
कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन् ।
एसईईमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी कर्मचारी, सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।