तनहुँ । आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन्।
गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिक सत्रदेखि शिक्षक र कर्मचारीले छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो। गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिन यो निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले दिइन्।
गाउँपालिकाका जनप्रतिनिधिले २०७९ को शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान शुरु गरेका थिए। जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकले यो निर्णय गरेको उनले बताए। गाउँपालिकाले शुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकले सहयोग गरेकाले हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। ‘जनप्रतिनिधिले अघिल्लो शैक्षिक सत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन्। शिक्षकले पनि यो कदमलाई साथ दिएका छन्’, उनले भने।
गाउँपालिकाले २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ। सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चुमानको भनाइ छ।
आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा करिब ४०० विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ। त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने उनले बताए। ‘सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो’, अध्यक्ष चुमानले भने।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।