काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा भएको हेरफेरलाइ निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।
सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथलका रूपमा व्याख्या गरेका छन् ।
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ ।
उनले भने, ‘आजको दिन अलि विशेष दिन भयो । आजको दिन फेरि एकचोटि नयाँ ध्रुवीकरण, नयाँ राजनीति परिस्थिति सृजना भयो, फेरि एउटा उथलपुथल हुने दिन बन्यो । साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन । गडगडाउँदो खोला जस्तो बग्ने नदी हो । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात हो ।’
उनले सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक रहेका भन्दै खिइँदैै, सुक्दै र एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्न नमिल्ने बताए । उनले कांग्रेसको नाम नलिइ सँगै रहेर सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बनेको संकेत पनि गरे ।
घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।