काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनामध्ये ४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन्।
बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनामध्ये ३ वटा सम्पन्न भइसकेको बताए।
उनले ४ वटाको प्रगति ८० प्रतिशतमाथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र ६ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए।
त्यस्तै, ५ वटाको प्रगति १० प्रतिशतमुनि रहेको उनले बताए। प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए। त्यस्तै, विद्युत् प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडि बढेको उनको भनाइ छ।
उनले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकमलगायतसँग छलफल भएको बताए। सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।
त्यस्तै, व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले हुलाकी राजमार्गका बाँकी पुलहरुको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आ.व.को बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताए।
उनले जयनगर–जकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको बताए।
त्यस्तै, काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उनले बताए।
प्रधानमन्त्री दाहालले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताए। उनले आयोजनाको हेडवक्र्ससम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनर्निर्माण गरिएको पनि बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।