काठमाडौँ । नेपाली कांग्रेस करिब ३ करोड घाटामा देखिएको छ। महासमिति बैठकमा पेस गर्न तयार पारिएको लेखा प्रतिवेदन अनुसार उक्त घाटा देखिएको हो।
आर्थिक वर्ष २०७८/०७९ मा १४ करोड आसपास आम्दानी गरेको कांग्रेसले खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ गरेको छ। यसरी आम्दानीको तुलनामा खर्च धेरै भएपछि सो आर्थिक वर्षमा कांग्रेसको हिसाब खाता ३ करोड ८४ हजारले घाटा भएको छ।
यस्तै, गत आर्थिक वर्ष जम्मा ३ करोड ६४ लाख आम्दानी गरेको कांग्रेसले खर्च भने ७ करोड ९९ लाख रुपैयाँभन्दा धेरै गरेको छ। गत आर्थिक वर्षमा पनि कांग्रेसको हिसाब किताब ४ करोड ३५ लाख १८ हजारले घाटामा छ।
सदस्यता लिने र नवीकरण गर्ने घटे
लेखा परीक्षण प्रतिवेदन अनुसार नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा कमी आएको छ। आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को लेखा परीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको उक्त प्रतिवेदनमा दाबी गरिएको छ।
राजनीतिक दलहरूले सदस्यता वितरण, नवीकरण र लेभी, चन्दा तथा सहयोग, ब्याज र प्रकाशन बिक्री बापत रकम आर्जन गर्ने गर्छन्। यी शीर्षकमध्ये सबैभन्दा धेरै रकम सदस्यता, नवीकरण र लेभीबाटै उठ्ने हो। सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्या नै घटेपछि समग्र हिसाव घाटामा गएको दाबी प्रतिवेदनमा गरिएको छ।
कांग्रेसले आर्थिक वर्ष २०७८/०७९ मा सदस्यता वितरण, लेभी र नवीकरण बापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो। तर गत आर्थिक वर्ष २०७९/०८० मा यस बापत उठ्ने शुल्क घटेर जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ। यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता र लेभीबाट उठ्ने रकममा ९९ प्रतिशतको गिरावट हो।
२०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ८५ लाख ४२ हजार ७०१ रुपैयाँको गिरावट हो। यो तथ्याङ्कबाट पछिल्लो एक वर्षको अवधिमा नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको पुष्टि गर्छ। यस बाहेक चन्दा तथा सहयोग बापत उठ्ने रकम समेत घटेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा यो शीर्षकमा ६ करोड ६८ लाख २४ लाख रुपैयाँ आर्जन गरेको थियो। यो शीर्षकबाट उठ्ने रकममा समेत आर्थिक वर्ष २०७९/०८० वर्षमा जम्मा २ करोड ६५ लाख ६४ हजार रुपैयाँ मात्रै उठेको छ। यो एक वर्षमा चन्दा तथा सहयोग बापत उठ्ने रकममा ४ करोड २ लाख ५९ हजार ४२३ रुपैयाँको गिरावट हो।
यस बाहेक, ब्याज बापत हुने आम्दानी समेत घटेको छ। आर्थिक वर्ष २०७८/०७९ मा ब्याज बापत ६७ लाख १७ हजार १८५ रुपैयाँ आम्दानी भएको थियो। गत आर्थिक वर्षमा यो शीर्षकको आम्दानी रकम घटेर ३८ लाख ३१ हजार २७० रुपैयाँमा कायम छ। यसबाहेक, प्रकाशन बिक्री बापत उठ्ने रकममा समेत ठूलो गिरावट आएको छ।
अघिल्लो आर्थिक वर्षमा यो शीर्षकमा ११ लाख ४९ हजार उठेकामा गत आर्थिक वर्षमा ९४ हजार ६०० मात्रै उठेको छ। अघिल्लो वर्ष यी सबै शीर्षकबाट नेपाली कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आर्जन गरेको थियो। जुन गत आर्थिक वर्षसम्म आइपुग्दा जम्मा आम्दानी घटेर ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँमा आइपुगेको छ। यो ११ करोड २५ लाख १७ हजार रुपैयाँभन्दा धेरैको गिरावट हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।