काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ ।
क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासंगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला भएको छ ।
सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन्।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनले बताइन् ।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र बिधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका प्रस्तावहरु समेत आह्वान समेत गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.