add

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक






ActPro Nepal

|

१८ पुष, २०८०

|
152

भरतपुर । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए । ‘यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा फर्कन्छ’, उनले भने, ‘सौराहाका ९० प्रतिशतभन्दा बढी होटल बुकिङ छन् । भारतमा सार्वजनिक बिदा भएका कारण पनि घुम्न आउने भारतीय नागरिक बढेका हुन् ।’ चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो ।

सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश–विदेश जाने योजना रहेको बताउँदै उनले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिए। नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो ।

क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताए । ‘यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनु पर्दैन’, उनले भने, ‘थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।’

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताए । उनका अनुसार सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । यहाँ झण्डै दुई सय रेष्टुरेन्ट छन् ।

सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.