काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी-ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी-ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए ।
उनले भने, ‘प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी-ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ ।’
उनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताएका हुन् ।
प्रम दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रम महिला होस् भन्ने चाहेको बताए ।
उनले भने, ‘अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।’ प्रम दाहालले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाई र आवश्यक बजेट विनियोजन गर्ने बताए ।
उनले भने, ‘पार्कका लागि बहुवर्षीय कार्यविधि बनाएर सफल बनाउने दायित्व सबैको भएकाले आउने बजेट नीति तथा कार्यक्रममा नयाँ ढंगले लैजाने छौँ ।’
उनले महिला उद्यमी हरित क्रान्तिको निम्ति मञ्चका पदाधिकारीले अग्रिम मोर्चा सम्हाल्नुभएको उल्लेख गर्दै सरकार पन्ध्रौँ पञ्चवर्षीय योजनाको समीक्षा गर्ने र १६औँ योजनाको तयारीको प्रक्रियामा रहेकाले १६ औँ योजनामा महिला उद्यमी र हरित उद्योगलाई प्राथमिकता दिने गरी अगाडि बढाउने सोच बनाएको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।