जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
धनुषाको औरही गाउँपालिका-४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए ।
सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी संगठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे ।
उनले भने, ‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ । उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु ।’
कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई÷दुईपटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरूले गम्भीर बन्नुपर्नेमा जोड दिए ।
उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए ।
आगामी महासमिति बैठकमा संघीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी पार्टी सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै संघीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा व्यक्त गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।