काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका करदाताहरूलाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनी र १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरू छन् ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट एशियन पेन्टस् प्रालि, कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट ओसीबी फूड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
त्यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थातर्फ ग्लोबल आइएमई बैंक, बीमा व्यवसायमध्येबाट लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायबाट मनकामना दर्शन प्रालिलाई सम्मान गरेको छ ।
त्यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार शाह, आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए ।
उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरू रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए । साथै उनले आगामी वर्षमा समेत यो सफलताका लागि शुभकामना व्यक्त गरे ।
व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिरेका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिए । कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए । उच्च करदाताको रूपमा सम्मान गर्ने नेपाल सरकार एवं परिसंघलाई उनले धन्यवाद व्यक्त गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।