काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुनेछ। आजको यात्रा ७१ किलोमिटर मात्र रहेको छ। हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको थियो।
आवज विहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग सामुहिक भेटघाट रहेको छ। आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको छ। चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले बताए।
यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ। त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ। सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।
वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी,व्यापारी,बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।