काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन ।
नेपाली कांग्रेस र नेविसंघ लमजुङ-काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताएका हुन ।
‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अंगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,’ नेता कोइरालाले भने ।
उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।