add

राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान






ActPro Nepal

|

७ असोज, २०८०

|
390

गण्डकी । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ ।

मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्‍याइएको हो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बाग्लुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ ।

तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको छ ।

मन्त्रलयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताए ।

प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको उनको भनाइ छ ।

उर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो ।

‘राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत् आयोजना पनि नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरिएको हो’, इन्जिनियर श्रेष्ठले भने, ‘प्रदेशका सबै घरधुरीमा बिजुली पुर्‍याएर यसै वर्षभित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको तयारी छ ।’

मन्त्रालयको तथ्यांकअनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ ।

बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने कार्य भइरहेको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार २८ सय ८४ घरधुरीमा मात्र विद्युत् सेवा नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले बताए ।

ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ ।

ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन । प्रदेशमा झण्डै चार सय लघुजलविद्युत् आयोजना छन ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले आयोजना निर्माण गरेका हुन । सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । बाग्लुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पुर्‍याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा शाखाका अनुसार प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी बिजुलीको पहुँचमा छन । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.