काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने संकल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको जोड दिए ।
मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो संख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताए ।
सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन राजनीतिक नेतृत्वमा दूरगामी दृष्टिकोण आवश्यक रहेको बताए ।
लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
महासचिव घनश्याम भुसालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै त्यसले राष्ट्रिय उत्पादन र पूँजी सञ्चयमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे ।
बाग्मती प्रदेशका कृषि तथा पशुपन्क्षीमन्त्री राजेन्द्रमान श्रेष्ठले आयात न्यूनीकरण गर्न निर्यातमुखी उद्योगलाई भन्सार तथा अनुदानमा सहुलियत दिइने प्रतिबद्धता व्यक्त गरे ।
महाधिवेशनले लंक केसीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।