काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १७ बैंकले पुसकै ब्याजदर स्थिर राखेका छन् भने दुइटाले घटाएका छन् । एउटाले भने बढाएको छ ।
२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले यो वर्ष पुस र माघमा भने स्थिर राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए ।
ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ । त्यसैलाई, मध्येनजर गर्दै अधिकांश बैंकहरूले माघमा पनि पुसकै ब्याजदर कायम राखेका हुन् ।
बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।
कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ५ महिनामा बैंकहरूले जम्मा सवा १ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।
पुसको तुलनामा माघमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा व्यक्तिगततर्फ ०.०२ प्रतिशत बिन्दुले घटेको छ भने संस्थागततर्फ ०.०५ प्रतिशत बिन्दुले घटेको छ । पुसमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.०२ प्रतिशत रहेकोमा माघमा घटेर ६ प्रतिशत बिन्दुमा आइपुगेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर पुसमा ४.५३ प्रतिशत रहेकोमा माघमा घटेर ४.४८ प्रतिशतमा झरेको छ ।
माघका लागि दुई वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल एसबीआइ र कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । जसमा एसबीआइले ०.५ प्रतिशत र कृषिले ०.०६ प्रतिशतले घटाएको छ ।
माघमा लक्ष्मी सनराइज बैंकले भने निक्षेपको ब्याजदर बढाएको छ । लक्ष्मी सनराइजले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ ।
माघमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१० प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसीले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने नेपाल एसबीआइको सबैभन्दा कम ५.६ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।
बैंकहरूले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।
२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।