काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी नगरमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कोइराला परिवारका सदस्यहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने उनको दाबी छ ।
उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए ।
उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु । तर, महाधिवेशनमा तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ ।’
नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यहरूलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरूको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औँ महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको बताए । आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उनको भनाइ छ ।
‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । बीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो,' शशांकले भने, 'सात हजार कीमी बाटो थियो, अहिले १ लाख किलोमिटर भयो । हात हातमा मोबाइल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।