add

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति






ActPro Nepal

|

२२ भदौ, २०८०

|
885

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् । 

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहनुभएको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।  

‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’

राष्ट्रपति पौडेलले बीपी राजनीति र साहित्यका एक अनुपम पुञ्ज भएको उल्लेख गरे । राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिनसक्ने बीपीको जस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइने उनले बताए । पौडेलले भने, ‘त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।’ 

कार्यक्रममा ट्रस्टका सदस्य एवम सांसद डा शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । 

ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए । 

कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल पुरस्कृत भएका थिए । सो पुरस्कारको राशि एक लाख एकहजार रुपैया र सम्मानपत्र रहेको छ। 

त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ। 

सम्मानित व्यक्तित्व बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवादनै बीपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.