काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ।
प्रतिनिधिसभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सञ्जालबाट प्रदेश प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन्।
हिमालदेखी भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ। साथै असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौँ र काठमाडौँको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ।
एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनि र अनिश्मा बस्नेत सदस्यहरु रहेका छन्।
प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ। गौरिशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ। यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ।
भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ। यस्तै काठमाडौँको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ। बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ। पार्टिको लाल झण्डा पनि फहराइएको छ।
लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ। बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिवेशनहरुको मिति तोकिएपछी प्रदेश अधिवेशनहरु तयारीमा जुटेको हो।
लुम्बिनी प्रदेशले हालै प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ। एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।