काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्र्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलामा उनले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरुपमा जनतालाई जानकारी गराउन आफ्नो पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताए ।
आगामी असोज १४ देखि २९ गतेसम्ममा सो राष्ट्रिय अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बताउँदै उनले आफूहरू सही बाटोमा अघि बढ्नसके पार्टी पङ्क्तिभित्र विद्यमान भ्रमका बादल फाटेर जाने प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री समेत रहेएका नेता खनालले राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा–एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय जनतालाई बुझाइने बताए ।
सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे उनीहरूसग छलफल गरिने बताउँदै उनले अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सार्मथ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेकाले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताउँदै उनले भने, ‘हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने हो । विभिन्न जिल्लामा त्यस्ता घटना घटिरहेका छन् । तर हामीले एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।’
नेता खनालले एमाले समाजवाद कार्यान्वयनमा इमान्दार नरहेकाले अहिले पनि दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा केन्द्रित रहेको र जबज नै लक्ष्य लिएकाले त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।