add

कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ : गृहमन्त्री श्रेष्ठ






ActPro Nepal

|

१९ भदौ, २०८०

|
195

म्याग्दी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन ।

गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन ।

मन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।’ संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए ।

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढंगले छलफल गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,’ मन्त्री श्रेष्ठले भने, ‘बेनी-जोमसोम-कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।’

क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसँग छलफल गरेका थिए ।

कागखोलाको बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्यांक छ । स्थानीयका ५० घरमा ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ ।

बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.