काठमाडौं । पोखरामा हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । मनसुनका कारण करिब तीन महिना स्थगित भएको हट एयर बेलुन भदौ १६ देखि नियमति संचालनमा आउने भएको हो ।
हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।
पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ ।
बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।
हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ ।
उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।