काठमाडौं । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक बुधबार पनि बस्दैछ।
प्रस्तावित ६ राजदूतमाथि परेका उजुरीमाथि छलफल गर्न बिहान ११ बजे समितीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
आजको बैठकमा परराष्ट्रमन्त्री र ३ जना प्रस्तावित राजदूतलाई बोलाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्। हिजो बसेको समितीको बैठकमा राजदुत सिफारिसमा समावेशी नभएको भन्दै प्रश्न उठेको थियो। सांसदहरूले प्रस्तावित राजदूतको सूची समावेशी नभएको भनेर प्रश्न उठाएपछि समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीलाई बोलाउने निर्णय सुनाएका थिए।
बुधबारको बैठकमा समावेशिताको विषयमा परराष्ट्रमन्त्री एनपी साउदले जवाफ दिने सदस्य घर्तीले बताइन्। यस्तै प्रस्तावित राजदूतहरूमाथि ६ वटा उजुरी परेकोमा एउटालाई बेनामे भएको भन्दै खारेज गरिएको छ । बाँकी पाँच वटा उजुरी हिजो बैठकमा पढेर सुनाइएको थियो।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्याण्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।