add

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा






ActPro Nepal

|

२७ असार, २०८०

|
485

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। 

झण्डै एक वर्षदेखि बस्न नसकेको बैठक आजबाट पार्टी कार्यालयमा सुरु हुन लागेको हो। बैठक सानेपामा दिउँसो १ बजे बस्नेछ। बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली, मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका बालकृष्ण खाणलाई कारबाही गर्नेबारे छलफल हुने भएको छ। यद्यपी खाणलाई निलम्बनको प्रस्ताव नल्याउने सहमति भएको जनाइएको छ। 

बैठकले नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ। नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन। चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति देउवाको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो। तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन। 

अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका काम कारबाहीका बारेमा पनि केन्द्रीय समितिमा छलफल भएको छैन। आज  सुरु हुने बैठकमा सबै विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलको दाबी छ। ​

कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई कारबाही नगरिएको तथा ललिता निवास प्रकरणमा पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरिरहेका छन्।

कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो। तर अझै यसको मिति घोषणा भएको छैन। अबको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको मिति नै तोक्ने गरी तयारी गरेका छन्। नीति अधिवेशन नभए महासमिति बैठक बोलाउनुपर्ने दबाब महामन्त्रीहरुले दिइसकेका छन्।  आज बैठकमा महामन्त्री गगन थापाले बैठकमा केन्द्रीय समिति कटौती विषयमा छलफल हुने बताएका छन्।

कांग्रेसमा केन्द्रीय समिति सदस्य सङ्ख्या बढी भएको भन्दै अनौपचारिक छलफल हुँदै आएको छ। यसलाई पार्टीको औपचारिक निकायमै छलफलमा ल्याउने तयारी महामन्त्रीले गरेका हुन्। सदस्य सङ्ख्या कटौतीबारे बैठकको एजेन्डामा नहुने तर विषय उठाइने थापाले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.