काठमाडौ । श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेको निवासमा बुधबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
अध्यक्ष नेपालले बुधबार साँझ नै श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग पनि भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको र दुवै देशले एकअर्कालाई गर्नसक्ने सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ ।
अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।