add

प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण






ActPro Nepal

|

१२ असार, २०८०

|
346

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधेका छन् ।  गम्भीर आरोप लगाउँदै महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।   

९ वटा प्रश्न मार्फत लगाइएको विभिन्न आरोपमा जिम्मेवारी पूरा गर्न असफल रहेको प्राधिकरणलाई हानी नोक्सनी पुर्याएको लगायत रहेका छ ।  

उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान नदिएको पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ ।

यस्तो छ स्पष्टीकरण 

(१) तपाइँलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाइँको कर्तव्य र जिम्मेवारी हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइँले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइँले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ?


(२) प्राधिकरणको महानिर्देशको स्टेट सेफटी प्रोग्रामको अकाउन्टेबल एक्जुकेटीभ भएको र नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी पनि तपाइँ भएको तर तपाइँ महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरु र ३ वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायूयानसँग सम्बन्धित गम्भीर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ । अतः उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ?


(३) वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटना पछि प्रतिक्रियामा जाने गरेको देखिंदा नियामक निकायको प्रमुखको रुपमा तपाइँको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने ?


(४) नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परिक्षणमा भएको सिफारिस विपरित कार्यात्मक विभाजन नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाइँले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरित विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको ? परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ?


(५) मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको समय समाप्त भइसकेपछि पनि सिभिल एभिएसन रिक्वायरमेन्ट : रुल अफ द एयरको ४.३ एआईपी नेपालको ईएनआर १.२ विपरित विभिन्न वायूसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो । नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ?


(६) मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । राज्यले दातृ निकायहरुबाट अरवौं रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाइँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ?


(७) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाई घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल) उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन–वे को उचाई घट्नुको कारण के हो ? रन–वेको उचाई घटाउँदा छिनेडाँडाको उचाई बढि काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो ?


(८) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम बापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ । निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न बि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो । सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रु. ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ । सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२००९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमान भन्दा ६५ १५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम बापत रु १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाइँको भनाइ के छ ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्याएएको हो ?


(९) नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७९/०४/०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको इीक् भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारबाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन–वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाइँले लिनु किन नपर्ने ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.